नियम ४३
जानकारी माग गर्न सक्ने
(१) कार्यालयले कारखाना सञ्चालन गर्ने प्रतिष्ठानको सम्बन्धमा रोजगारदातासँग देहायको विवरण माग गर्न सक्नेछ र कार्यालयले माग गरेको विवरण दिनु रोजगारदाताको कर्तव्य हुनेछः-
(क) प्रतिष्ठानको नाममा रहेको भौतिक सम्पत्तिको विवरण,
(ख) कार्यस्थलमा जडान भएका मेशिनरी औजार तथा मुख्य उपकरणको विवरण,
(ग) कार्यस्थलमा पर्याप्त प्रकाश तथा हावाको व्यवस्था भए नभएको,
(घ)  उत्पादन प्रक्रियाबाट ग्यास निस्कने अवस्था भएमा सो ग्यास,  प्रतिष्ठान बाहिर निकाल्ने व्यवस्था भए, नभएको,
(ङ)  कार्यस्थलमा शौचालयको उपयुक्त व्यवस्था भए, नभएको,
(च)  कार्यस्थलमा शुद्ध पिउने पानीको व्यवस्था भए, नभएको,
(छ) उत्पादन प्रकृयाको लागि प्रशस्त पानी आवश्यक पर्ने भएमा प्रतिष्ठानमा सोको व्यवस्था भए, नभएको,
(ज)  प्रतिष्ठान सञ्चालन हुँदा त्यसबाट वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न अपनाइएका उपायहरू,
(झ) उत्पादन कार्यको वार्षिक रूपमा आवश्यक कच्चा पदार्थ र सहायक कच्चा पदार्थको नाम तथा परिमाण,
(ञ)  प्रतिष्ठानले उत्पादन गर्ने वस्तु र वार्षिक उत्पादन क्षमता,
(ट)  नियम ३९ बमोजिमका  रोजगारदाताले पालना गर्नु पर्ने कुराहरू पालना भए नभएको।
(२) उपनियम (१) बमोजिम प्राप्त विवरण जाँचबुझ गर्दा स्वास्थ्य, सुरक्षा तथा पर्यावरणीय दृष्टिकोणबाट समेत श्रमिक वा अन्य कुनै व्यक्तिको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएमा कार्यालयले आवश्यक सुधार गर्न रोजगारदातालाई निर्देशन दिन सक्नेछ।त्यसरी दिएको निर्देशनको पालना गर्नु सम्बन्धित रोजगारदाताको कर्तव्य हुनेछ।